प्रचण्डले गरे प्रधानमन्त्री कार्कीको प्रशंसा
सहयात्रा टिभी
काठमाडौं । चैत्र ४, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।

बुधबार बिहान प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरु प्रधानमन्त्री कार्कीको निमन्त्रणामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए ।
भेटमा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले नेताहरूसँग भनेकी छन्, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो ।
यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’
साथै प्रधानमन्त्री कार्कीले निर्वाचनमा विजय एका नेताहरूलाई बधाइ दिइन् र अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना भनेकी छन् ।
नेकपाका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाइ दिए ।
संयोजक प्रचण्डले भनेका छन्, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो । यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्वपूर्ण र प्रशंसालायक छ ।’
सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि प्रचण्डले स्मरण गरे । पूर्वप्रधानमन्त्री नेपालले कार्की प्रधानमन्त्री बन्ने अवस्थाको स्मरण गरे ।
अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको पनि उनले बताए ।


