कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
सहयात्रा टिभी
काठमाडौं । चैत्र ५, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको स्रोतले बताएको छ । राजीनामा भने सार्वजनिक गरिएको छैन ।

थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ । केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्ने सम्भावना न्यून रहेको एक केन्द्रीय सदस्यले बताए ।
निर्वाचनको प्रारम्भिक नतिजा आएसँगै राजीनामाको मनस्थिति बनाएका थापालाई केन्द्रीय पदाधिकारीलगायत उच्च नेताहरुले राजीनामा नदिन सुझाव दिँदै आएका थिए । सभापति थापा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको ठूलो हारसँगै आफू पनि सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका थिए ।
यो हारसँगै कांग्रेसकै एउटा समूहले थापालाई राजीनामा दिन सार्वजनिक रुपमै चर्को दबाब दिँदै आएको थियो । गत पुसमा काठमाडौँमा भएको कांग्रेसको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । २०७९ सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटमा जित हासिल गरेको छ ।


