चैत १२ गते प्रतिनिधिसभाका सदस्यहरूको शपथ ग्रहण

सहयात्रा टिभी

काठमाडौं । चैत्र ५, प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ ।

संघीय संसद सचिवालय बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो ।

दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका बिषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने उनले बताए ।

राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई सपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए । त्यस्तै नवनिर्वाचित सदस्यहरूको अभिमूखीकरणका लागि समेटनुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए ।

खासगरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरू आएको प्रवक्ता गिरीले उल्लेख गरे ।

त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलव्धताकाबीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए ।

छलफलपछि संसद् सचिवालयले दलका प्रतिनिधिहरूलाई दलको कार्यालय समेत देखाएको थियो । प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसाबले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको छ ।

 

प्रकाशित : 19 March, 2026

प्रतिक्रिया दिनुहोस्