विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । चैत्र ९, मुलुकका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका छन् ।

धादिङ, धनुषा, महोत्तरी, बाँके, रुपन्देही, बारा र स्याङ्जामा भएका दुर्घटनामा परेर सात जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।
धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना भएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक गल्छी गाउँपालिका–२ भुतिया बस्ने ५६ वर्षीय खड्ग प्रसाद खतिवडाको मृत्यु भएको हो ।
धनुषाको धनौजी गाउँपालिका–३ कटैया चोकस्थित सडकमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–४ बस्ने २५ वर्षीय अंकित कुमार मण्डलको मृत्यु भएको हो ।
त्यस्तै, महोत्तरीको औरही नगरपालिका–३ श्रीपुरटोलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ३० वर्षीय चालक रंजीत साहको मृत्यु भएको हो ।
त्यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ डाँडाटपरीस्थित सडकमा कुण्डाचोकबाट बैजापुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३५ वर्षीय हरी राम थारूको मृत्यु भएको हो ।
उता, रूपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित सडकमा मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ कडदमहवा बस्ने २१ वर्षीय आशिष यादवको मृत्यु भएको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा बसले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा बस्ने अन्दाजी ३५ वर्षीय राम कुमार कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–९ साङलियास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने ५४ वर्षीय चालक ज्योतिलाल खनालको मृत्यु भएको हो ।सबै दुर्घटनामा गम्भीर घाइतेहरुको उपचारको क्रममा मृत्यु भएको हो ।


