जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने
सहयात्रा टिभी
काठमाडौँ ।चैत्र १३, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुदनलाई महत्वपूर्ण र बलियो मानिने गृहमन्त्रालय दिन लागिएको हो ।
सुधन गुरुङ गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका हुन् । गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो ।
काठमाडौंको मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि उनी विपद् सम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काममा लागेका थिए ।
विभिन्न संघसंस्थासँग जोडिएर काम गर्ने अवसर पाउँदै गएपछि गुरुङ सामाजिक कार्यमा अग्रसर भएका थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।
‘शिक्षा, स्वास्थ्य, विपद् र समाजमा देखिएको विसङ्गति विरुद्ध आवाज उठाउने उद्देश्यसहित म एक्लैले यो संस्था खोलेँ,’ गुरुङ भन्दै आएका छन्, ‘पछि अरूहरू पनि जोडिँदै जानुभयो ।’
घटनाक्रम अनुसारका विभिन्न आन्दोलनमा समेत उनी सहभागी बन्दै आए । बाढीपहिरोजस्ता विपद्मा मात्र नभई कोभिडको समयमा पनि उनी आबद्ध संस्थाले विभिन्न ठाउँमा सहयोग गर्यो । कोभिड अस्पताल निर्माणदेखि ड्रोनबाट राहत वितरणको काममा समेत उनको संस्था अग्रसर देखियो ।
सामाजिक कार्यमा व्यस्त रहँदै आएका उनलाई धेरैले चिन्दैनथे । सुदन गुरूङ नेपाली राजनीतिक वृत्तमै हलचल ल्याउने गरी गत २३ भदौमा भएको जेनजी आन्दोलनका कारण सर्वाधिक चर्चामा आए ।
तर, उनी जेनजी उमेर समूहका युवा भने होइनन् । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको खुट्टा ढोगे पछि उनको चर्चा थप चुलिएको थियो । गुरूङमाथि जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लागेको थियो ।
गुरूङले आफ्नै समर्थनमा सरकार बनेको दुईपछि नै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन पनि गरेका थिए । कार्की नेतृत्वको अन्तरिम सरकार गठनदेखि मन्त्रिमण्डल विस्तारसम्म उनको बोलबाला चल्यो ।
उनले निर्वाचनको सम्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई एक ठाउँमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बालेनसँगै रास्वपामा मिसिए ।
सामाजिक अभियन्ताबाट राजनीतिमा फड्को मारेका उनले आसन्न निर्वाचनमा गोरखा–१ बाट टिकट समेत पाए । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


