पूर्वगृहमन्त्री रमेश लेखक अदालत उपस्थित गराइयो
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १५, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ परेका उनलाई सार्वजनिक बिदाका कारण आज मात्रै अदालत लगिएको हो ।

भदौ २३ र २४ गते भएको एउटा घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा सरकारले लेखकलाई नियन्त्रणमा लिएको हो । आयोगले उक्त घटनामा लेखकको ‘लापरबाही र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप’ का कारण मानवीय क्षति भएको निष्कर्ष निकाल्दै उनीमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
अदालतका स्रेस्तेदार तीर्थ भट्टराईका अनुसार लेखकलाई म्याद थपका लागि न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा पेस गरिएको छ । अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालयमा समेत पुर्याइएको थियो ।
हाल उनलाई नेपाल प्रहरीको २ नं. गण, महाराजगन्जको हिरासतमा राखिएको छ । प्रहरीले उनीमाथि लागेको आरोप र आयोगको प्रतिवेदनलाई आधार बनाएर थप अनुसन्धान अगाडि बढाएको छ ।


