तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीमाथि थालियो सम्पत्ति शुद्धीकरणको अनुसन्धान

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १५, नेपालका तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र उनीहरूका परिवारको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा विस्तृत अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो प्रक्रिया अघि बढाएको हो।

अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। यस्तै, पूर्वमन्त्रीद्वय आरजु राणा देउवा र दीपक खड्काका साथै आरजुका भाइ भुषण राणा र उनीहरूका परिवारका सदस्यहरूको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतमाथि पनि छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यसै सिलसिलामा आइतबार बिहान नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। बुढानीलकण्ठस्थित आफ्नै निवासबाट सीआईबीको टोलीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको हो। खड्कालाई आजै जिल्ला अदालत उपस्थित गराएर म्याद थप गर्ने तयारी गरिएको छ।

गत भदौ २४ गते भएको आगजनीको एउटा घटनाका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल र पूर्वमन्त्री दीपक खड्काको घरबाट जलेका नोटका टुक्राहरू फेला परेका थिए। सोही प्रमाणका आधारमा विभागले उनीहरूको सम्पत्तिको वैधतामाथि प्रश्न उठाउँदै प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएकाले विस्तृत अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

यसअघि नै एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई ‘जेनजी आन्दोलन’ का क्रममा भएको मानवीय क्षतिको विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइसकिएको छ। पछिल्लो समय सम्पत्ति शुद्धीकरणको मुद्दा थपिएपछि राजनीतिक वृत्तमा ठुलै हलचल पैदा भएको छ।

प्रकाशित : 29 March, 2026

प्रतिक्रिया दिनुहोस्