सेयर बजारमा ७१ अंकको गिरावट
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १५, आज पहिलो दिनको सेयर बजार ७१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २९ सयमुनि झरेको छ । बजार आज २८७९ मा कायम भएको छ ।

आज बजार खुलेपछि निरन्तर ओरालोमा रह्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोडको भयो । ९ कम्पनीको मूल्य बढ्दा २५६ को घट्यो भने एउटाको स्थिर रह्यो ।
नयाँ सरकार बनेपछि बजारमा उत्साह थपिने धेरैको आश थियो । सरकारले निजी क्षेत्रमैत्री केही निर्णय पनि गरिसकेको थियो । आज बजार घट्नुमा धरपकड र आन्दोलन पनि एउटा प्रमुख कारण रहेको एक ब्रोकर सञ्चालकले बताए ।
पहिलेदेखि नै बजार एक चरणमा बढिसकेकाले नाफा पनि रहेको र पछिल्लो समय धरपकड र आन्दोलन हुन थालेसँगै आइतबार बिक्री चाप बढेको उनको भनाइ छ । गत साता नेप्से ७३ अंक बढेको थियो । एक महिनाअघि नेप्से २६७३ अंकमा थियो भने आज आइतबार बजार खुल्दा २९५० अंकमा थियो ।


