सांसदहरूले जेठ १० गतेसम्म आफ्नो सम्पति विवरण बुझाउनुपर्ने
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १५, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पति विवरण बुझाउनुपर्ने भएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
यही व्यवस्था स्मरण गर्दै संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो ।
‘प्रतिनिधि सभाका माननीय सदस्यहरुले मिति २०८३ जेठ १० गतेसम्म आर्थिक वर्ष २०८१र०८२ को अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा देहायको विवरणहरू उल्लेख गरी संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा (भवन नं. १ को कोठा नं. २०७) मा कार्यालय समयभित्र दर्ता गराउनुहुन निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ,’ सार्वजनिक सूचनामा उल्लेख छ ।
गत फागुन २१ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले यही चैत १२ गते शपथ लिएका थिए ।


