कांग्रेसमा समानान्तर गतिविधि तीव्र : खड्काले बोलाए केन्द्रीय समिति बैठक

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १६, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उत्पन्न परिस्थितिको राजनीतिक र कानुनी प्रतिवाद गर्ने उद्देश्यले खड्काले मंगलबार र बुधबारका लागि बैठक बोलाएका हुन् ।

धुम्बाराहीस्थित एक होटलमा दुई दिनसम्म चल्ने उक्त बैठकमा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सहभागी हुन खबर गरिएको छ । सभापति शेरबहादुर देउवानिकट स्रोत र खड्का सचिवालय दुवैले बैठकको पुष्टि गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले पुनः कार्यवाहक सभापतिको हैसियतमा सक्रियता बढाएका छन् । यसअघि उनले चैत १४ गते विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूसँग ठमेलमा छलफल गरेका थिए ।

छलफललगत्तै कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै खड्काले ओली र लेखकको पक्राउलाई असंवैधानिक र राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए । उनले यसको कानुनी र राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने चेतावनी दिँदै नेता-कार्यकर्ताहरूलाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन अपिल समेत गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकलगत्तै खड्काले सातै प्रदेशका सभापति र जिल्ला सभापतिहरूको समेत भेला बोलाउने तयारी गरेका छन् । खड्कानिकट स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक रणनीति तय गर्न र पक्राउ प्रकरणको देशव्यापी विरोधका लागि यो भेला आयोजना गर्न लागिएको हो ।

खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि पार्टीभित्र नयाँ विवाद समेत सिर्जना भएको छ । संस्थापन पक्षका केही नेताहरूले खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल चलाएका थिए । यद्यपि, खड्काले भने आफूलाई १४ औं महाधिवेशनबाट निर्वाचित कार्यवाहक सभापतिकै रूपमा प्रस्तुत गर्दै पार्टीका गतिविधिहरू अगाडि बढाइरहेका छन् ।

प्रकाशित : 30 March, 2026

प्रतिक्रिया दिनुहोस्