विमानस्थलमा यात्रुलाई सास्ती दिने १८ जना पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २१, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई यात्रीहरूलाई अनावश्यक दुःख र हैरानी दिने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब १० बजे जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

विमानस्थलबाट बाहिरिने यात्रुहरूलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारेर कमिसनका लागि निश्चित होटेलमा पुर्याउने, आपसमा झगडा गर्ने र अभद्र व्यवहार देखाउने गरेको उनीहरूमाथि आरोप छ । काठमाडौँका विभिन्न स्थानमा बस्दै आएका उनीहरूले विमानस्थलको सुरक्षा र यात्रुको सहजतामा बाधा पुर्याइरहेको प्रहरीको ठहर छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सर्लाहीका सूर्य माझी, बाँकेका एकेश तामाङ र पाँचथरका प्रेमकुमार मगर रहेका छन् । यस्तै, सिन्धुलीका राजकुमार राई, मकवानपुरका मंगलमान घलान, अजय लामा र विश्व मोक्तान तथा पाँचथरका खगेन्द्र लिम्बूलाई पनि नियन्त्रणमा लिइएको छ ।
अन्य पक्राउ पर्नेहरूमा मोरङका आशिष खतिवडा र पर्शुराम राई, धनुषाका वीरेन्द्र झा, रघुवीर साह र सरोजकुमार महतो, सिरहाका लडा मियाँ, रामेछापका सन्तु तामाङ, महोत्तरीका राजीवकुमार रावत, झापाका केशव लिम्बू र बझाङका रामप्रसाद तथा विमलराज जोशी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् । विमानस्थलको वातावरण व्यवस्थित र सुरक्षित बनाउन प्रहरीले यस्तो निगरानी बढाएको हो ।


