ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २२, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सरकारले चैत १४ गते उनीहरूलाई पक्राउ गरेपछि दुवै नेताले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।

जेनजी आन्दोलनका घटनाहरूको जाँचबुझका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रहरीले उनीहरूलाई चैत १४ गते नियन्त्रणमा लिएको थियो। आफ्नो पक्राउ गैरकानूनी र स्वेच्छाचारी भएको जिकिर गर्दै दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए।

यसअघि चैत १६ गते भएको प्रारम्भिक सुनुवाइमा सर्वोच्चको इजलासले विपक्षी सरकारका नाममा ‘कारण देखाउ आदेश’ जारी गरेको थियो। अदालतले पक्राउ गर्नुको आधार र कारणसहित लिखित जवाफ माग गरेपछि सरकारका तर्फबाट जवाफ पेस भइसकेको छ।

अदालत स्रोतका अनुसार मुद्दाका लागि आवश्यक लिखित जवाफ र अन्य कानुनी प्रक्रियाहरू पूरा भइसकेकाले आजका लागि पेसी तोकिएको हो। दुवै नेताका रिटहरू एकसाथ पेसीमा चढ्ने र आजै पक्ष-विपक्षका कानुन व्यवसायीहरूबीच बहस हुने बताइएको छ। बहसपछि अदालतले उनीहरूको पक्राउको वैधानिकता परीक्षण गरी थुनामुक्त गर्ने वा नगर्ने भन्नेबारे आवश्यक आदेश दिनेछ।

प्रकाशित : 5 April, 2026

प्रतिक्रिया दिनुहोस्