प्रहरीको विशेष अभियान : चार दिनमा २२६ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २२, नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा चार दिनभित्र २२६ जनालाई पक्राउ गरेको छ। गुण्डागर्दी, बिचौलिया गतिविधि र सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्नेहरूलाई लक्षित गर्दै प्रहरीले यो अपरेसन चलाएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार यही चैत १८ गतेदेखि २१ गतेसम्म सञ्चालित अभियानमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका सबैमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

कुन दिन कहाँबाट कति पक्राउ परे?
प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्कअनुसार पक्राउ पर्नेहरूको विवरण यसप्रकार छ:

-चैत १८ गते: काठमाडौं उपत्यकाबाट ५१ र कोशी प्रदेशबाट १८ जना।

-चैत १९ गते: बागमती प्रदेशबाट २३, कर्णालीबाट ११, मधेसबाट ७, गण्डकीबाट २ र कोशी प्रदेशबाट १ जना।

-चैत २० गते: गण्डकी प्रदेशबाट १०, मधेसबाट ८, लुम्बिनीबाट ४ र सुदूरपश्चिम प्रदेशबाट २ जना।

-चैत २१ गते: काठमाडौं उपत्यकाबाट मात्रै ६२ जना।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मुख्यतया यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिने बिचौलियाहरू, गुण्डागर्दीमा संलग्न व्यक्तिहरू र सार्वजनिक स्थलमा अशान्ति मच्चाउनेहरू रहेका छन्।

समाजमा शान्ति सुरक्षा कायम गर्न र गैरकानुनी कार्यलाई निरुत्साहित गर्न सुरु गरिएको यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने प्रवक्ता काफ्लेले स्पष्ट पारेका छन्।

प्रकाशित : 5 April, 2026

प्रतिक्रिया दिनुहोस्