नवनिर्वाचित सभामुख अर्यालको शपथ ग्रहण आजै दिउँसो साढे २ बजे
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २२, प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोल प्रसाद (डीपी) अर्यालले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो साढे २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण सम्पन्न भएलगत्तै सभामुख अर्यालले आजै आफ्नो कार्यकक्षमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन्। पदभार ग्रहण गरेसँगै अब प्रतिनिधिसभा बैठकको अध्यक्षता र सञ्चालन उनैले गर्नेछन्।
यसअघि, गत शुक्रबार सभामुख पदका लागि भएको मनोनयन दर्तामा अर्यालको मात्र एकल उम्मेदवारी परेको थियो। सोही आधारमा आज बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।
सभामुखको टुंगो लागेसँगै प्रतिनिधिसभाको आगामी बैठक यही चैत २३ गते दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।


