१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २६, नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको हिरासत बसाइपछि त्रिवि शिक्षण अस्पतालबाट रिहा भएका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको हो । उनीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भने भद्रकालीस्थित प्रहरी हिरासतमै छन् । उनलाई पनि हाजिर जमानतमा छाड्ने तयारी भएको छ।

सर्वोच्च अदालतको आदेश अनुसार दुवैजनालाई आफन्तको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आइपुगेपछि छाडिएको हो । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते ओलीलाई गुन्डुस्थित निवासबाटै पक्राउ गरेको थियो।

तर विभिन्न ६ वटा रोगको सामना गरिरहेका ओ‌ली चैत १५ गतेदेखि शिक्षण अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएपछि चिकित्सकहरूले उनलाई पित्तथैलीमा पत्थरी, थाइराइड, मधुमेह, उच्च रक्तचापसहितका समस्या भएको बताएका थिए ।

निरन्तर निगरानीमा राखेर उपचार गर्नुपर्ने भएपछि ओलीलाई चिकित्सकहरूले अस्पतालबाट डिस्चार्ज गर्न अस्वीकार गरेका थिए । त्यहीकारण उनले प्रहरी कार्यालयको हिरासतमा बस्नु भने परेन। गत चैत २३ गते सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएकाे ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको थियो। जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रकाशित : 9 April, 2026

प्रतिक्रिया दिनुहोस्