प्रधानमन्त्री बालेनलाई गाली गरी कन्टेन्ट बनाउने युट्यबर पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २९, प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका विभिन्न राजनीतिक नेतृत्वविरुद्ध युटुबमार्फत आपत्तिजनक र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युटुबर रोशन पोखरेल रहेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको प्राविधिक अनुसन्धान र निर्देशनका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पोखरेलले ‘Hades’ नामक युटुब च्यानलमार्फत विभिन्न व्यक्तित्वहरूको मानमर्दन हुने गरी गालीगलौज युक्त र भ्रामक सामग्रीहरू सार्वजनिक गर्दै आएका थिए । सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर अपराध गरेको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको छ ।
पाँचथरका प्रहरी प्रमुख एवं डीएसपी अनिश कर्णले पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरिएको जानकारी दिए । उनीमाथि विद्युतीय (साइबर) कारोबार ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमा जथाभावी सामग्री पोष्ट नगर्न र कानुनी मर्यादाको पालना गर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ ।


