यूएईविरुद्धको टी–२०आई शृंखलाका लागि नेपाली टोली घोषणा : कप्तानीको जिम्मेवारी दीपेन्द्रलाई

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ४, नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सोमबार र मंगलबार घरेलु मैदान कीर्तिपुरमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी–२०आई शृंखलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

घोषित टोलीमा निकै ठूलो परिवर्तन गर्दै क्यानले दीपेन्द्रसिंह ऐरीलाई टोलीको कप्तानी सुम्पिएको छ । नियमित कप्तान रोहित पौडेल भने यसपटक टी–२०आई टोलीमा परेका छैनन् । क्यानले कार्यविभाजन गर्दै ओडिआई टोलीको कप्तानी रोहितले र टी–२०आई टोलीको कप्तानी दीपेन्द्रले गर्ने गरी जिम्मेवारी बाँडफाँट गरेको हो ।

यूएईविरुद्धको यो शृंखलामा मध्यक्रमका ब्याटर कुशल मल्ल र विकेटकिपर अर्जुन साउदले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । मल्लले पछिल्लो पटक टी–२० विश्वकप एसिया छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए भने साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेपछि पहिलोपटक टी–२०आई टोलीमा स्थान बनाएका हुन् ।

युवा खेलाडीहरू सन्तोष यादव र हेमन्त धामीले पनि १५ सदस्यीय टोलीमा स्थान बनाउन सफल भएका छन् । यी दुवै खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ ।

त्रिवि क्रिकेट मैदानमा हुने यो शृंखलाले नेपाली टोलीको आगामी टी–२० रणनीतिको संकेत गरेको छ ।

नेपाली टी–२०आई टोली:
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल ।

प्रकाशित : 17 April, 2026

प्रतिक्रिया दिनुहोस्