दार्चुलाको उकु महल क्षेत्रमा पौराणिक मन्दिरका भग्नावशेष फेला
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ६, दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा मन्दिरसम्बन्धी अवशेषहरू भेटिएका हुन् ।

वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले उकु क्षेत्रमा उत्खनन् गरिरहेको छ ।
पुरातत्व अधिकृत हरिप्रसाद भुसालका अनुसार उत्खनन्का क्रममा ठूलो संख्यामा कलात्मक शीला, विभिन्न मूर्ति, शिखर ९गजुर० का अर्धभाग, ढुङ्गेधारा, बसाहा तथा सिंह आकृतिका पत्थरका अवयवहरू फेला परेका हुन् ।
मध्ययुगीन समयमा निर्माण भएका शिव मन्दिर जस्ता संरचनाका अवशेष प्रशस्त मात्रामा भेटिएको भुसालले बताए ।
उनका अनुसार उत्खनन्बाट प्राप्त संरचनाको स्वरूप हेर्दा यो क्षेत्र राजा बस्ने महलभन्दा पनि मन्दिर भएको प्रारम्भिक अध्ययनले संकेत गरेको छ ।
उत्खनन्का क्रममा भेटिएका केही महत्वपूर्ण मूर्तिहरू काठमाडौंस्थित छाउनी संग्रहालयमा संरक्षणका लागि लैजाने तयारी भइरहेको पुरातत्व विभागले जनाएको छ ।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष थप मूर्तिहरू फेला परेका छन् । उत्खनन्स्थलमा शीलालेख अंकित चट्टानहरू समेत देखिएका छन् । ढुङ्गा कुँदेर बनाइएका आकर्षक मूर्ति तथा संरचनात्मक अवशेषहरू भेटिनु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
मालिकार्जुन गाउँपालिका–६ का वडाध्यक्ष गोकर्णसिंह धामीले उत्खनन् कार्य सकारात्मक भए पनि पर्याप्त बजेटको अभाव रहेको बताए ।
