चीनमा २ पूर्वरक्षामन्त्रीलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको सजाय
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २५ , (एजेन्सीहरूको सहयोगमा) चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ।

यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ।
ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे पनि सैन्य भ्रष्टाचार अनुसन्धानको दायरामा आएका थिए। त्यसपछि सन् २०२४ मा दुवैलाई चीनको सत्तारूढ कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो।
विज्ञहरूका अनुसार, यो कारबाही राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा हो। विगत केही वर्षयता चीनको सेना र रक्षासँग जोडिएका धेरै वरिष्ठ अधिकारीहरूमाथि कारबाही गरिएको छ।
सीएमसी चीनको सर्वोच्च सैन्य संस्था हो, जसले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र चिनियाँ सरकारको तर्फबाट सेनामाथि नियन्त्रण राख्छ। चीनका राष्ट्रपति सी जिनपिङ सीएमसीका अध्यक्ष हुन्।
यसैको मातहतमा पिपुल्स लिबरेसन आर्मी (पीएलए), पिपुल्स आर्म्ड पुलिस (पीएपी) र मिलिसियाहरूले काम गर्छन्।
पछिल्लो एक वर्षमा चीनको सैन्य र एरोस्पेस क्षेत्रसँग जोडिएका दर्जनौँ वरिष्ठ अधिकारीहरूलाई उनीहरूको पदबाट हटाइएको छ। विज्ञहरूका अनुसार यो कारबाही राष्ट्रपति सी चिनफिङको भ्रष्टाचार र अविश्वासविरुद्धको अभियानकै एउटा कदम हो ।
