प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङ असन्तुष्ट
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २५ , श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिएका छन् ।
‘संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन,’ उनले लेखेका छन्, ‘वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ति गरेको छ यो सरकारले ।’
सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उनले यसमा राजनीतिक र कानुनी स्वार्थ लुकेको आशंका व्यक्त गरेका छन्।
विज्ञप्तिमा सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा अदालतबाट निर्णय गराउने उद्देश्यले यो नियुक्ति दिइएको हुन सक्ने प्रशस्त आशंका रहेको उल्लेख छ।
साथै, नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी पनि उनले गरेका छन्।
