असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने
सहयात्रा टिभी
काठमाडौँ । जेठ १ , माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो ।

कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् । उता, काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ ।
तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन । एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन् ।
केही समयभित्रै पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएकाहरूलाई कक्षा सुरु गराउनुपर्ने र छात्रवृत्तिको समयसीमा नजिकिँदै गर्दा देखिएको यो चापको सहज व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न कायम छ ।
शिक्षा मन्त्रालयले यस विषयमा आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्याएको र केही दिनभित्रै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।
शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार मन्त्रालयले शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन यो योजना अघि सारेको हो ।
भर्ना अभियानको सन्दर्भमा सहसचिव अधिकारीले भने, ‘असार १ गतेदेखि नयाँ भर्ना खोल्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ ।’ यसको औपचारिक निर्णय केही दिनमै हुने सहसचिव अधिकारीले बताए ।
