एमाले सचिवालय बैठक बस्दै : नेताहरूको कार्यविभाजन र ‘पालिका इन्चार्ज’ तोक्ने मुख्य एजेण्डा
सहयात्रा टिभी
काठमाडौँ । जेठ ४, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने यस बैठकले पार्टीका नेताहरूको जिम्मेवारी बाँडफाँड र आगामी चुनावी रणनीतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार यसअघि जेठ २ गतेका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो। ११ औं महाधिवेशन सम्पन्न भएको लामो समय भइसक्दा पनि नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठकको मुख्य केन्द्रविन्दु जिम्मेवारी बाँडफाँडमै रहनेछ।
एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टी संगठन बलियो बनाउने रणनीति अघि सारेको छ। जसअनुसार, हरेक केन्द्रीय सदस्यलाई एउटा पालिकाको इन्चार्ज तोकेर फिल्डमा खटाउने तयारी गरिएको छ। यसका साथै पार्टीका विभिन्न केन्द्रीय विभाग र निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गरिने एक पदाधिकारीले जानकारी दिए।
यस्तै, बैठकले गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्नुका साथै आगामी केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ। त्यसैगरी सरकारले व्यवस्थापन नगरी सुकुम्बासीहरूलाई जबरजस्ती हटाएको विषयमा बैठकमा गम्भीर छलफल हुनेछ भने वर्तमान सरकारका पछिल्ला काम-कारबाही र त्यसले जनजीवनमा पारेको नकारात्मक प्रभावका बारेमा पनि एमालेले आधिकारिक धारणा बनाउने नेताहरूले बताएका छन्।
