दश दिनभित्र चन्द्रगढी विमानस्थलबाट दुर्घटनाग्रस्त जहाजको अवशेष हटाइने
सहयात्रा टिभी
काठमाडौँ । जेठ ६, चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।

चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए ।
दुर्घटनापछि जहाजको अवशेषलाई घटनास्थलमै त्रिपालले छोपेर राखिएको थियो । धावनमार्गकै छेउमा दुर्घटनाग्रस्त जहाज देखिँदा उडान भर्ने यात्रुहरूमा मनोवैज्ञानिक त्रास र असहजता बढेको भन्दै गुनासो आउने गरेको थियो ।
चन्द्रगढी विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाको प्राविधिक अनुसन्धान र बिमा कम्पनीको मूल्याङ्कन प्रक्रियाका कारण जहाजको अवशेष लामो समयसम्म घटनास्थलमै राख्नुपरेको हो ।
‘दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक सबै अनुसन्धान पूरा गरिसकेका छन्’, प्रमुख खत्रीले भने, ‘त्यसैले अबको १० दिनभित्र जहाजको सबै अवशेष पूर्ण रूपमा हटाइने तयारी भइरहेको छ ।’
जहाज हटाउने स्वीकृत प्रक्रियाअनुसार हाल दुर्घटनाग्रस्त विमानको बडीबाट ‘बुद्ध एयर’को नाम, लोगो तथा अन्य पहिचान खुल्ने चिह्नहरू मेटाउने कार्य सम्पन्न भइसकेको छ ।
