निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै ठूलो : मन्त्री सुनिल लम्साल

सहयात्रा टिभी

काठमाडौँ । जेठ ८, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए ।

निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा रहेको जानकारी उनले गराए । उनका अनुसार करिव २० दिन अगाडिसम्मको तथ्यांक हेर्दा पूर्वाधार मन्त्रालयको बजेट सीमाभन्दा करिव ३७ अर्ब रुपैयाँले घाटामा गइसकेको थियो ।

राष्ट्र बैंकको वर्तमान मूल्य सूचकांकले मात्रै अहिलेको चरम मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने अवस्था रहेको स्वीकार गर्दै उनले सबै प्रकारका आयोजना र व्यवसायीलाई न्याय हुने गरी सरकारले तयारी गरिरहेको जानकारी दिए ।

मन्त्री लम्सालले भने, ‘अहिले हाम्रो अगाडि रहेको यो मूल्यवृद्धि सामान्य होइन । यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि यो एउटा ठूलो संकट पनि हो । हाम्रो जस्तो सानो पुँजी भएको देशमा यसको असर झन् बढी छ ।’

उनले थपे, ‘अझ करिव २० दिन अगाडिसम्मको कुरा गर्ने हो भने, हाम्रो मन्त्रालयको बजेट अहिलेको थप बजेट बनाउन मिल्ने सीमाभन्दा धेरै घाटामा गइसकेको थियो । लगभग ३७ अर्ब जति घाटा भइसकेको थियो । त्यतिबेला डिजेलको मूल्यमा पनि एकदमै धेरै वृद्धि भइरहेको थियो । सबैभन्दा बढी डिजेल खपत हुने क्षेत्र नै निर्माण व्यवसायी वा कन्स्ट्रक्सन इन्डस्ट्री हो । यसले गर्दा राज्यलाई पनि घाटा भयो र निर्माण व्यवसायीहरूलाई पनि ठूलो मर्का पर्‍यो ।’

राष्ट्र बैंकको इन्डेक्स अनुसार मूल्यवृद्धि दिन सकिने व्यवस्थाले मात्र अहिलेको विशेष परिस्थितिलाई सम्बोधन गर्न नसकेको उनले बताए ।

उनले मूल्यवृद्धिका जटिलता समाधानको प्रयास भइरहेको जानकारी दिए । त्यसका लागि कतिपय कुराहरू ऐनमै संशोधन र व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताए । ऐन संशोधन नभएसम्म शतप्रतिशत समस्या समाधान नहुने देखिएकाले निर्णय प्रक्रियामा केही ढिलाइ देखिएको उनको भनाइ छ ।

 

प्रकाशित : 22 May, 2026

प्रतिक्रिया दिनुहोस्