नरेफाँटमा दिउँसै युवकमाथि धारिलो हतियारबाट आक्रमण

सहयात्रा टिभी

काठमाडौँ । जेठ १०, काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा दिउँसै युवकमाथि धारिलो हतियारबाट आक्रमण भएको छ ।

आक्रमणबाट सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका छन् । आफूमाथि आक्रमण भएको भन्दै ज्यान मार्ने उद्योग र डाँका गर्न नहुने कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरमा उनले उजुरी दिएका छन् ।

जसमा धनुषा घर भई ललिपुर टिकाथली बस्ने १८ वर्षीय अभिषेक यादव, धनुषा नै घर भई टिकाथली बस्ने २८ वर्षीय धनराज यादवसहित परिचय नखुलेका ५र६ जनाभन्दै प्रहरीमा उजुरी दिइएको छ ।

घटना शुक्रबार दिउँसो २ बजेतिरको हो । छुरा आक्रमणबाट हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको पीडितले दाबी गरेका छन् ।

प्रहरी स्रोतका अनुसार कुट्ने र कुटाइ खाने सहोदर मामा–भान्जा हुन् । मामाले सम्झाउन खोज्दा उल्टै यसअघि टिकाथलीमा भान्जाले मामालाई आक्रमण गरेको बताइएको छ । त्यसको बदलामा शुक्रबार मामाले भान्जालाई आक्रमण गरेको देखिएको प्रहरीले बताएको छ ।

अहिले आक्रमण गर्ने फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

 

प्रकाशित : 24 May, 2026

प्रतिक्रिया दिनुहोस्