आजको मौसम पूर्वानुमानः पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा
सहयात्रा टिभी
काठमाडौं । जेठ १२ , नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौ उपत्यका सहित देशका केही भागमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा–हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
