लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह

सहयात्रा टिभी

काठमाडौं । जेठ १५ , प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।

पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ ।

यसमा अभियुक्तमा रुपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्‍याएका मानिसहरूले पनि प्रक्रिया पुर्‍याएर छिटो भन्दा छिटो सफाइ लिनु पर्दछ । यो गम्भीर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सिमित रहने विषय होइन,’ उनले भने ।

मानव अधिकार आयोगको सो प्रतिवेदनमा नेपालमा मात्रै सीमित नभएर यो संयुक्त राष्ट्र संघ र त्यसमा आवद्ध संघ, संस्थाहरूको पनि रेकर्डमा रहने भएकाले त्यसमा दोषी देखिएकाहरूले सफाईका लागि आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने अध्यक्ष लिङ्देनको भनाइ छ ।

उहाँले उक्त प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता औंल्याए । त्यस अवसरमा अध्यक्ष लिङ्देनले आफनो पार्टी मुलुकको एक मात्रै वैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै निराश नभइ सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरे ।

 

प्रकाशित : 29 May, 2026

प्रतिक्रिया दिनुहोस्