दैलेखमा जिप दुर्घटना ३ जनाको मृत्यु, ५ घाइते
सहयात्रा टिभी
काठमाडौं । जेठ १८ , दैलेखमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई चिकित्सकले मृत घोषण गरेका हुन् ।

मृत्यु हुनेमा जिप चालक कालीकोटको शुभकालिका–५ का ३५ वर्षीय कलबहादुर रोकाय, सोही ठाउँका ३९ वर्षीय मित्र सुनार र शुभकालीका–६ का ६० वर्षीया पुल्तिसरा बिक रहेका छन् ।
सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप०१००१ च ४९६४ नम्बरको जिप दैलेखको भैरबी गाउँपालिका–७ कालगौंडीमा दुर्घटना भएको थियो ।
सोमबार दिउँसो भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो । तर अस्पतालमा उनीहरूलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
उनका अनुसार मृतक तीन जनाको शव जिल्ला अस्पताल दैलेखमा राखिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी विकले जानकारी दिए ।
शुभकालिका– ४ की ४५ वर्षीया नैन सुनार र वडा नम्बर–६, का २७ वर्षीय सुमत बिकलाई थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । अन्य घाइते तीन जनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकको कमान्डमा ५ जनाको टोली घटनास्थल पुगेको छ ।
