वीपी प्रतिष्ठानमा बिरामीको अत्यधिक चाप

सहयात्रा टिभी

काठमाडौं । जेठ २० , सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि पूर्वका ठूला अस्पतालमा रिफर भएर आउने विरामीहरूको अत्यधिक चाप थेग्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परेको छ ।

वीपी प्रतिष्ठान विरामीको चाप पहिलेदेखि नै थियो । तर पछिल्लो समयमा झापा विर्तामोडको विएमसी, विराटनगरको नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेज धाउने विरामीहरू पनि धमाधम वीपी प्रतिष्ठानमै उपचार गर्न आउन थालेपछि चाप बढेको हो ।

सरकारले निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम बन्द गर्नु र सातामा दुईदिन अर्थात शनिबार र आइतबार सार्वजनिक विदा दिएको कारणले वीपी प्रतिष्ठानमा अस्पतालमा विरामीको चाप बढेको छ ।

चाप बढ्दा सबैभन्दा बढी सास्ती विरामीले नै खेप्नु पर्ने भएको छ । स्वास्थ्य विमाको काउण्टर र विमा नगरेका विरामीले सतप्रतिशत उपचार शुल्क तिर्ने काउण्टरहरूमा घण्टौं लामो लाइन लाग्नु पर्ने, बल्लतल्ल पुर्जी काटेपछि आफ्नो रोग अनुसारको ओपिडीमा पुगेपछि पनि चिकित्सकको टेवलसम्म पुग्न फेरि घण्टौं पालो कुर्नु पर्ने अवस्था छ ।

सामान्यतया वीपी प्रतिष्ठानमा अधिकांस ल्याबको रिपोर्ट ३ घण्टामा दिन सकिने बताइएपनि अत्यधिक चापका कारण रिपोर्ट लिन भने भोलिपल्ट जानुपर्ने अवस्था छ ।

चाप बढेसँगै अल्ट्रासाउण्ड र शल्यक्रिया गर्नुपर्ने विरामीको पनि पालो पछाडि धकेलिएको छ । अरु बेला कम्तिमा दुईसातामा अल्ट्रासाउण्ड र शल्यक्रियाको पालो आउने विरामीले अब एक महिनादेखि डेढ महिनासम्मको पालो कुर्नु पर्ने भएको छ ।

 

प्रकाशित : 4 June, 2026

प्रतिक्रिया दिनुहोस्