हर्कराज राईले गरे सुकुमवासी समस्या समाधान गर्न माग

सहयात्रा टिभी

काठमाडौँ । असार २, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए ।

७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु न्यायपूर्ण नभएको उनको तर्क थियो ।

त्यसैगरी, उनले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ को ६४ बिघा जग्गाको प्रसङ्ग पनि उठाए ।

६६ वर्षदेखि बसोबास गरिरहेका स्थानीयले अझै लालपुर्जा नपाएको र अहिले नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दुस्ख दिने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘हाम्रो भूभाग डुबानमा पारेर छिमेकीको रक्षा गर्ने खालका सम्झौताहरू राष्ट्रघाती हुन्, यसबारे सरकारले गम्भीर भएर आवश्यक कदम चालोस्,’ सांसद राईले भनेका छन् ।

त्यस्तै, उनले प्रधानमन्त्री बालेन शाहको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरे ।

बैठकका क्रममा उनले सीमा क्षेत्रमा हुने डुबान, भूमिहीनका समस्या र माईतीघरमा जारी आन्दोलनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद राईले रौतहटको गौर नजिकै भारतले लाल बकैया र वागमती नदीमा उच्च बाँध निर्माण गरेका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्टिङ आएको पनि बैठकमा बोल्ने क्रममा बताए ।

सांसद राईले माइतीघर मण्डलामा विभिन्न माग राखेर लामो समयदेखि धर्नामा बसेका नागरिकहरूको मुद्दा सम्बोधन गर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् ।

 

प्रकाशित : 16 June, 2026

प्रतिक्रिया दिनुहोस्