हेटौंडा कपडा उद्योग चलाउन प्रधानमन्त्री कार्यालयले अग्रसरता लिए
सहयात्रा टिभी
काठमाडौँ । असार ५, दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको छ ।

हेटौंडा आद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कपडा उद्योग सञ्चालनमा प्रधानमन्त्री कार्यालयले प्रत्यक्ष अग्रसरता लिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको अनुगमनसमेत गरेकी छिन् ।
मन्त्रीसहितको टोलीको अनुगमनपछि प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले कपडा उद्योगलाई छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयबाट हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामासँग कपडा उद्योग सञ्चालनको सम्बन्धमा दुई दिनअघि फोनमार्फत छलफलसमेत भएको छ ।
प्रधानमन्त्री कार्यालयसँग कपडा उद्योग सञ्चालनमा उपमहानगरको भूमिकाबारे कुराकानी भएको नगर प्रमुख लामाले बताइन् ।
कपडा उद्योग चलाउन उपमहानगरको आगामी आर्थिक वर्षको सबै बजेट हाल्न पनि तयार भएको जवाफ आफूले दिएको लामा बताउँछिन् ।
प्रधानमन्त्री कार्यालयको अग्रसरताले कपडा उद्योग सञ्चालन हुने विश्वास दिलाएको प्रमुख लामाले बताइन् ।
प्रधानमन्त्री कार्यालयको चासोसँगै नगर प्रमुख लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कपडा उद्योगको अनुगमन गरेका छन् ।
उद्योग मन्त्री गौरीकुमारी यादवले १० जेठमा उद्योगको अनुगमन गरेकी थिइन् ।
मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३र०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएकी छिन् ।
