सीमा सुरक्षामा अब बीआईटी परिचालन गरिने
सहयात्रा टिभी
काठमाडौँ । असार ११, सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने भएको छ ।

बीआईटीबारे सशस्त्र प्रहरीले अध्ययन गरेर अब कार्यान्वनको चरणमा पुग्न लागेको छ । यसलाई पाइलट प्रोजेक्टको रूपमा लागु गर्न लागिएको छ । सुरुमा मुख्य सीमा नाकाहरुमा बीआईटी परिचालन गरिने र बिस्तारै यसलाई बिस्तार गर्दैै लैजाने नीति सशस्त्र प्रहरीले लिएको छ ।
बिहीबार सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी प्रमुख तथा आईजीपी नारायणदत्त पौडेलले यसबारे जानकारी गराए । सीमा सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउँदै आईजीपी पौडेलले बीआईटी लागु गर्न लागिएको बताए ।
सशस्त्र प्रहरीका कर्मचारीलाई नै बीआईटीको रूपमा सादा पोशाकमा सीमा क्षेत्रमा खटाइने छ । उनीहरूले सशस्त्रको बर्दी नलगाए पनि एकरूपता झल्कने अन्य पोशाक भने लगाउने बताइएको छ । बीआईटी टिम नागरिक तथा काउन्टर पार्टसँग समेत समन्वय गरेर काम गर्ने बताइएको छ ।
