काठमाडौंमा कृष्णगोपालको एकल चित्रकृतिहरू प्रदर्शनमा
सहयात्रा टिभी
काठमाडौँ । असार २२, कलाकार कृष्णगोपाल श्रेष्ठको एकल चित्रकला प्रदर्शनी आर्केटाइप (आध्याबिम्ब) काठमाडौंमा चलिरहेको छ ।

दरबारमार्गस्थित ग्यालरी १०८ मा सञ्चालन प्रदर्शनीमा नेपाली धार्मिक, सांस्कृतिक तथा दार्शनिक परम्पराबाट प्रेरित चित्रकृतिहरू प्रदर्शनमा राखिएका छन्।
प्रदर्शनीमार्फत कलाकार श्रेष्ठले आदिम प्रतीक, मिथकीय चेतना, आध्यात्मिक अनुभव, सांस्कृतिक स्मृति तथा मानवीय अन्तरचेतनालाई समकालीन चित्रकलाको माध्यमबाट अभिव्यक्त गर्ने प्रयास गरेका छन् । उनका अनुसार आर्केटाइप मानव चेतनामा गहिरोसँग रहेका सार्वभौमिक प्रतीकहरूको कलात्मक अन्वेषण हो।
कलाकार श्रेष्ठले प्रदर्शनीले नेपाली परम्परा र समकालीन कलाबीच संवाद स्थापित गर्दै नेपाली सांस्कृतिक पहिचानलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्ने उद्देश्य लिएको बताए।
प्रदर्शनी कला, संस्कृति तथा सिर्जनात्मक अभ्यासमा रुचि राख्ने कला पारखी, विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि खुला छ। प्रदर्शनी अझै एकसाता चल्नेछ ।
