आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चार वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ ।

आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनः स्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चार वटा पुल पुनर्निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उनले जानकारी दिए ।

आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । जलाशयका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन उपयुक्त स्थानमा पुल पुनः स्थापना गर्न लागिएको भण्डारीले बताए ।

जलाशय निर्माणका कारण प्रभावित हुने बस्तीका बासिन्दालाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो । स्थानीयबासीसँगको परामर्शका आधारमा पुल रहने स्थान तय गरिएकाले यसबाट स्थानीय बासिन्दाको दैनिक आवागमन तथा विभिन्न सेवा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको भण्डारीको भनाइ छ । सम्झौताअनुसार चार वटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : 22 October, 2026

प्रतिक्रिया दिनुहोस्