अनुसन्धान विभागले जयवीरलाई सात दिनभित्र उपस्थित हुन पत्र

सहयात्रा टिभी

काठमाडौँ । असार २३, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं पूर्वमन्त्री डा. आरजु राणाका छोरा जयवीरलाई सात दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

 

विभागका अनुसन्धान अधिकृतहरूको टोलीले सोमबार बूढानीलकण्ठस्थित देउवा निवासको भग्नावशेषमा पुगेर सात दिन भित्र उपस्थित हुनु भनी म्यादको सूचना टाँसेको हो । त्यसको भोलिपल्ट मंगलबार विभागले गोरखापत्र दैनिकमा त्यही आशयको सूचना जारी गरेको हो ।

गोरखापत्रमा जारी भएको सूचनामा, सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानको सिलसिलामा जयवीरमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ । विभागले ‘अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएको,’ भन्दै सूचना जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ अनुसार, सम्पर्कविहीन व्यक्तिको हकमा बढीमा ३० दिनसम्मको म्याद दिई सूचना गर्न पाउने अधिकार अनुसन्धान अधिकृतहरूलाई छ । विभागका अनुसन्धान अधिकृतले एक साताको म्याद दिएका हुन् ।

अनुसन्धानको क्रममा जयवीरले केही अस्वाभाविक सम्पत्ति आर्जन गरेको र उनको कारोबार समेत शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथिको अनुसन्धान अघि बढाएको हो ।

‘प्रारम्भिक रुपमा नै स्पष्ट कैफियतहरू भेटिएपछि हामीले उहाँलाई बयानका लागि बोलाएका हौं,’ विभागसम्बद्ध स्रोतले भन्यो, ‘उहाँको बाबुआमा (शेरबहादुर र डा. आरजु)को जस्तै उहाँमाथिको अनुसन्धान पनि प्रारम्भिक चरण पार गरेर विस्तृत तहमा पुगेको छ ।’

विभागसम्बद्ध स्रोतका अनुसार, देउवा परिवारका सदस्यहरू केही विवादास्पद घटनामा शंकास्पद रुपमा जोडिएका छन् ।

प्रकाशित : 7 July, 2026

प्रतिक्रिया दिनुहोस्