प्रतिनिधिसभा बैठक बस्ने समय सर्‍यो

सहयात्रा टिभी

काठमाडौँ । असार ३१, प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् ।

उनका अनुसार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुखले सभाको बैठक आजै दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलेराष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजै पेस गर्ने कार्यसूची छ ।

अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने बिधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसपछि सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धीमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् । आजै अनुमोदन गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, माथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची छ ।

 

प्रकाशित : 15 July, 2026

प्रतिक्रिया दिनुहोस्