बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले ल्याएयो उपहार योजना

सहयात्रा टिभी

काठमाडौँ । साउन ५, सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना ल्याएको छ ।

नयाँ व्यवस्थाअनुसार अब बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।

अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यो कार्यक्रम नेपाल सरकारको स्वीकृत बजेटमार्फत् सञ्चालन हुने छ ।

मन्त्रालयका अनुसार कर प्रणालीमा आबद्धता बढाउने, वस्तु तथा सेवा खरिद–बिक्रीको वास्तविक अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो ।

कार्यविधिअनुसार नेपालभित्र आफ्नै प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वतस् प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिदबापत एउटा उपहार टिकट प्राप्त हुनेछ ।

डिजिटल भुक्तानीबाहेक नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमार्फत बिल नम्बर, बिक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ ।

तर व्यापारिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा तथा हवाई टिकटका बिल तथा प्यान नम्बर नभएका विक्रेताबाट लिइएका बिल भने कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन् ।

 

प्रकाशित : 21 July, 2026

प्रतिक्रिया दिनुहोस्