अण्डाको मूल्य बढ्दा पनि किसानले पाएनन् लागत मूल्य
सहयात्रा टिभी
काठमाडौँ । साउन ६, ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४ सय ५० रुपैयाँबाट ५०० पुगेको छ । मध्यम अण्डा ४ सय २० रुपैयाँ बाट ४ सय ७० रुपैयाँ पुगेको छ । सानो अण्डा ४ सय १५ रुपैयाँ पुगेको छ । सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए ।
दैनिक ४५ लाखको हाराहारीमा अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाखको हाराहारीमा झरेको उनले बताए । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५ सय ५० रुपैयाँमा बिक्री भएकामा झरेर ४ सय ५० रुपैयाँमा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५ सय ७३ रुपैयाँ ६० पैसा पर्न आउने र प्रतिगोटा अण्डाको १९ रुपैयाँ १२ पैसा पर्न आउने बताइएको छ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए ।
मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताए ।
