देशभर ८५ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न, मधेशमा अझै २२ प्रतिशत खेत बाँझै

सहयात्रा टिभी

काठमाडौँ । साउन १२, साउनको दोस्रो सातासम्म आइपुग्दा देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकभरका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगे पनि अझै १४.२८ प्रतिशत क्षेत्रफलमा धान रोप्न बाँकी छ ।

देशभर कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा हालसम्म ११ लाख ७४ हजार ३ सय ९२ हेक्टरमा मात्र रोपाइँ सकिएको छ । अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको विभागको तथ्यांकले देखाउँछ ।

मधेशमा सुस्त, सुदूरपश्चिममा उत्साहजनक
देशको प्रमुख अन्नभण्डार मानिने मधेश प्रदेशमा यस वर्ष रोपाइँको गति तुलनात्मक रूपमा सुस्त देखिएको छ । मधेशमा कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये ७७.८८ प्रतिशत (३ लाख ५ सय ८० हेक्टर) मा मात्र रोपाइँ भएको छ । त्यहाँ अझै २२.१२ प्रतिशत अर्थात् करिब ८५ हजार ३ सय ५२ हेक्टर जमिनमा रोपाइँ हुन बाँकी छ, जुन सातै प्रदेशमध्ये सबैभन्दा बढी हो ।

यता, सुदूरपश्चिम प्रदेशमा भने रोपाइँ लगभग अन्तिम चरणमा पुगेको छ । त्यहाँ कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये ९७.९३ प्रतिशत (१ लाख ५१ हजार ७ सय ४२ हेक्टर) क्षेत्रफलमा धान रोपिसकिएको छ । सुदूरपश्चिममा अब केवल २.०७ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ बाँकी छ ।

अन्य प्रदेशको अवस्था
गण्डकी प्रदेशमा ८०.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने १९.२८ प्रतिशत खेत अझै बाँझै छ । कोशी प्रदेशमा १३.०३ प्रतिशत, बागमतीमा १२.९१ प्रतिशत, कर्णालीमा ११.७८ प्रतिशत र लुम्बिनी प्रदेशमा ११.०१ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

गत वर्षभन्दा रोपाइँको दरमा सुधार
यस वर्ष रोपाइँ हुन बाँकी क्षेत्रफल केही ठूलो देखिए तापनि गत वर्षको तुलनामा समग्र राष्ट्रिय रोपाइँ दरमा भने सुधार आएको छ । गत वर्ष २०८२ को साउन ११ गतेसम्म देशभर जम्मा ७८.८४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष सोही अवधिमा रोपाइँको दर बढेर ८५.७२ प्रतिशत पुगेको छ, जसलाई कृषि क्षेत्रका लागि सकारात्मक संकेत मानिएको छ ।

प्रकाशित : 28 July, 2026

प्रतिक्रिया दिनुहोस्