एन्टी स्नेक भेनमको अभाव नरहेको स्वास्थ्यमन्त्रीको दाबी
सहयात्रा टिभी
काठमाडौँ । साउन १९, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ को अभाव नरहेको दाबी गरेकी छ्न् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गरेकी हुन् । उनले देशभर सर्पदंश उपचारका लागि हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी दिइन् ।
उनले स्वास्थ्य सेवा विभागको मंगलवारको तथ्यांकअनुसार केन्द्रीय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा गरी उक्त परिमाणमा एन्टिभेनम उपलब्ध रहेको बताइन् ।
उनकाअनुसार हाल मौज्दात रहेको १ हजार २ सय ६० भायल एन्टिभेनमबाट विष लागेको तथा नलागेको गरी करिव ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ ।
मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक १३ हजार २ सय भायल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् ।
उनले तत्काल एन्टी स्नेक भेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताइन् ।
उनले सर्पदंश भएका बिरामीलाई घरायसी उपचारमा नअल्झिन समेत आग्रह गरिन् ।
उनले भनिन्, ‘स्वास्थ्य सेवा विभागबाट १३ हजार २ सय भाइल सर्पदंश उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनमको खरिद प्रक्रिया अगाडि बढाइएको छ । र, साउन मसान्तसम्म आपूर्ति हुनेगरी व्यवस्था गरिएको छ ।’
उनले थपिन्, ‘तत्काल खोपको अभाव हुन नदिनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरि खोपको आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थाका लागि थप प्रभावकारी र दिगो बनाउने कुरामा जोड दिइएको छ ।’
मन्त्री मेहताले रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्तिको समेत समस्या नरहेको बताइन् ।
उनले हाल स्वास्थ्य विभागले २ लाख ७४ हजार भायल एमआरभी खरिदका सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताइन् । उनले १ लाख ९० लाख एमआरभी गत हप्ता आपूर्ति भइसकेको जानकारी दिइन् । देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको जानकारी समेत दिइन् ।

