श्रद्धाञ्जली सभामा रास्वपा सांसदको अभिव्यक्तिले तनाव
सहयात्रा टिभी
काठमाडौँ । साउन २१, सिरहाको गोलबजारमा हिन्दु र मुस्लिम समुदायले संयुक्त रूपमा मनाइरहेको श्रद्धाञ्जली सभामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद तपेश्वर यादवले दिएको अभिव्यक्तिले तनाव सिर्जना भएको छ ।
बिहीबार सिरहाको गोलबजारमा सुनसरी–सिरहा घटनाका मृतकलाई श्रद्धाञ्जली दिन आयोजित सभामा रास्वपा सांसद यादवले असंवेदनशील अभिव्यक्ति दिएका थिए । जसका कारण तनाव सिर्जना भएको हो ।
सुनसरीको देवानगञ्ज घटनापछि सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली चलेको थियो । सो गोलीबाट सिरहाका गणेश यादवको मृत्यु भएको थियो । त्यसयता गोलबजार पूर्णतयास् सामान्य हुन सकिरहेको थिएन ।
साम्प्रदायिक तनाव कम गर्दै सामाजिक सद्भाव पुनस्स्थापित गर्ने उद्देश्यले बिहीबार उद्योग व्यापार संघ गोलबजारले हिन्दु र मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।
शान्ति, सहिष्णुता र आपसी भाइचाराको सन्देश दिन आयोजित समारोहमा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवा सहभागी थिए ।
सो कार्यक्रममा सिरहा क्षेत्र नम्बर–४ बाट निर्वाचित रास्वपा सांसद तपेश्वर यादव र समानुपातिक सांसद सबिना मियाँ पनि सहभागी थिइन् ।
सोही कार्यक्रममा रास्वपा सांसद यादवले दिएको अभिव्यक्तिले केहीबेर स्थिति तनावपूर्ण बनेको हो । उनले मन्तव्य राख्ने क्रमा गोलबजारका केही राजनीतिक दल तथा व्यक्तिका कारण घटना भएको भनेर आरोप लगाएपछि अवस्था असामान्य बनेको हो ।
उनको अभिव्यक्तिपछि अन्य राजनीतिक दलका समर्थक र रास्वपा समर्थकबीच भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
सद्भाव कायम गर्न आयोजित सभामा नै सांसद यादवले असंवेदनशील अभिव्यक्ति दिएपछि तनावपूर्ण बनेको माहोल साम्य पार्न प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । प्रहरीले सांसद यादवलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो ।
उनले त्यो अभिव्यक्ति दिनुअघि सुनसरी र सिरहामा भएका घटनाबारे सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको बताएका थिए । घटनामा गोली चल्नुपर्ने अवस्था नरहेको दाबी गर्दै उनले त्यो बेला ड्युटीमा रहेका प्रहरी निरीक्षक, तत्कालीन डीएसपी, प्रमुख जिल्ला अधिकारीलगायतको भूमिकामाथि छानबिन भइरहेको बताएका थिए ।
सांसद सबिना मियाँले नेपाल सबै समुदायको साझा देश भएकाले विभाजनको भावना त्यागेर एकता, सद्भाव र सहकार्यका साथ अघि बढ्नुपर्ने भन्दै सद्भावपूर्ण अभिव्यक्ति दिएकी थिएन् ।
कार्यक्रममा अन्य वक्ताले सुनसरी र गोलबजारका घटनामा राज्य संयन्त्रको कमजोरी नै मुख्य कारण रहेको बताएका थिए । समयमै प्रभावकारी सुरक्षा व्यवस्था, समन्वय र संवेदनशीलता अपनाइएको भए यस्ता दुस्खद घटना टार्न सकिने अवस्था रहेको उनीहरूको धारणा थियो ।
उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय सासले घटनाका क्रममा मुस्लिम समुदायका पसल, घर तथा व्यवसायमा भएको क्षतिको उचित क्षतिपूर्तिको माग सम्बोधन गर्ने प्रतिबद्धतासहित संयुक्त श्रद्धाञ्जली कार्यक्रमपछि बन्द रहेका पसलहरू खोल्ने सहमति भएको बताए ।
साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनाको प्रभाव साउन १४ गते गोलबजारसम्म फैलिँदा साम्प्रदायिक तनाव चर्किएको थियो। त्यसक्रममा सिरहाका गणेश यादव तथा सुनसरीका ओमप्रकाश महतो, जयप्रकाश महतो र रविन्द्र मेहताको मृत्यु भएको थियो ।
साथै, गोलबजारमा मुस्लिम समुदायका पसल, व्यवसाय, घर तथा अन्य संरचनामा तोडफोड र आगजनी भएपछि दुई समुदायबीच अविश्वास र तनाव बढेको थियो ।
संयुक्त श्रद्धाञ्जली कार्यक्रममार्फत हिन्दु र मुस्लिम समुदायले विगतका तिक्तता बिर्सेर शान्तिपूर्ण सहअस्तित्व, आपसी विश्वास र सामाजिक एकतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको अन्त्यमा दुवै समुदायका प्रतिनिधिले भविष्यमा कुनै पनि प्रकारको साम्प्रदायिक द्वन्द्व हुन नदिने तथा सत्य, न्याय र कानुनी प्रक्रियामार्फत मात्रै दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त गरेका थिए ।

