संसद्मा आज पनि विपक्षीदलहरूले गरे उठेर विरोध
सहयात्रा टिभी
काठमाडौँ । साउन २२, प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनीहरूले उठेर विरोध गरेका हुन् ।
त्यसपछि सभामुख डोल प्रसाद अर्याल (डीपी)ले नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिए । उनले पार्टीका तर्फबाट बोल्दै सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने अडान दोहोर्याए ।
‘सम्माननीय प्रधानमन्त्रीजीको सीमा सँग सम्बन्धित विवादित र आपत्तिजनक अभिव्यक्तिको बारेमा हामील विरोध गर्दै आएका छौं । त्यो यथावत छ,’ उनले भने ।
१७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे दुई वटा कुरा राखेका थिए ।
पहिलो : लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमिया नोट भारत सरकारलाई पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले राखेका थिए ।
दोस्रो : नेपालको तर्फबाट समेत भारतीय भूमि प्रयोग भएको भन्ने विषय उठाएका थिए । यी दुवै विषयमा तत्कालै विवादमा परे । विपक्षी दलहरूले यसबारे तथ्य खोजे । तर संसद्ले साढे दुई महिनासम्म प्रधानमन्त्री बालेनले यसबारे संसद्मा स्पष्टीकरण दिएका छैनन् ।
विपक्षी दलहरूले यो विषय निरन्तर संसद्मा उठाउँदै आएका छन् । आज पनि यही विषय उठाएर विरोध जनाएका हुन् ।

