टीकाथलीबाट युवक अपहरण भएको २० घण्टा बित्दा छैन अत्तोपत्तो
सहयात्रा टिभी
काठमाडौँ । साउन २४, शनिबार दिउँसो साढे ३ बजेतिर कोटेश्वरस्थित नरेफाँटदेखि बोजेपोखरी जाने बाटोमा जिलाप तामाङ मोटरसाइकलमा सवार थिए ।
अचानक चार स्कुटर र एक स्कोर्पियोले उनलाई घेरा हाले । स्कुटर र जिपमा आएका मानिसहरूले त्यसरी घेरेपछि एकछिन जिलापको दिमागले कामै गरेन । चार–पाँच जना स्कुटरबाट झरे । र, आफूहरू ‘पुलिस हौं’ भन्दै आए ।
त्यो समूहले जिलापलाई केही गरेनन् । तर, जिलापको मोटरसाइकलको पछाडि बसेका पुष्पेश भाटलाई झारेर स्कर्पियोमा हुले । र, लगे ।
खासमा पुष्पेशले कोटेश्वरबाट टीकाथलीस्थित डेरा जान ‘याङ्गो बुक’ गरेका थिए । याङ्गोमार्फत आएको रिक्वेस्ट एक्सेप्ट गरेर आफूले बोकेर हिँडेको जिलाप बताउँछन् ।
प्रहरी भन्दै आएको समूहले त्यसरी लग्दा आफूलाई पुष्पेश कुनै फरार अभियुक्त हुनसक्ने लागेर चासो नदिएको जिलापले बताए । त्यो घटनाको ठीक आधा घन्टापछि ‘पुष्पेश किन घर नपुगेको ?’ भन्दै उनका भाइ शुभम भाटले जिलापलाई फोन गरे ।
‘भाइको फोनबाट याङ्गो गर्नुभएको रहेछ । भाइले त्यहाँ तोकिएको पैसाभन्दा कम पैसा तिरेको देखेर र कोठा पनि नपुगेको पाएर मलाई फोन गर्नु भएको रहेछ,’ जिलाप भन्छन्, ‘मैले उहाँलाई सबै कुरा सुनाइदिएँ । उहाँ पनि छक्क पर्नुभयो ।’
पुष्पेशले याङ्गो गरेको मोबाइल उनकै भाइ शुभम भाटको थियो । पुष्पेश शुभमसँगै टीकाथलीस्थित डेरामा बस्दै आएका थिए । पुष्पेश हिजो अबेर दिउँसोदेखि गायब भएयता शुभम टीकाथली प्रहरी चौकी, सातदोबाटो प्रहरी वृत र बानेश्वर प्रहरी वृत धाइसकेका छन् ।
तर कतैबाट कुनै ठोस् जानकारी पाएका छैनन् । ‘कसैले फलानो चौकीमा जानुस् भन्छ । कसैले कता जाउ भन्छ,’ शुभमले दुखेसो पोखे, ‘तर, कहाँ लगेको हो रु लैजाने को हो रु साँच्चै प्रहरी हो कि होइन रु केही जानकारी पाएको छैन ।’
पुष्पेशबारे बुझ्न अनलाइनखबरले टीकाथली प्रहरी चौकी, जिल्ला प्रहरी परिसर ललितपुर, जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा टेकु, उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी मुख्यालय नक्सालसम्मलाई सम्पर्क गरेको थियो ।
सबै कार्यालयबाट एकैखालको जवाफ आयो, ‘हामीलाई यो विषयमा जानकारी छैन, बुझ्नुपर्छ ।’ पुष्पेश बेपत्ता भएको खबर शुभमले शनिबार नै कञ्चनपुरस्थित परिवारलाई जानकारी गराइसकेका छन् ।
पुष्पेशका दाइ विविध भाटका अनुसार उनी पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत छन् । उनले पुष्पेश स्नातक पहिलो वर्षको परीक्षा दिन साउन १५ गते मात्रै काठमाडौं आएका जानकारी दिए।
‘प्रहरीसँग हामी निरन्तर सम्पर्कमै छौं । अहिले बुबा र दाइ पनि यहाँबाट काठमाडौंका लागि हिँड्नुभयो,’ विविधले भने, ‘हामीले हराएको खबर पाएको पनि २० घण्टा भइसक्यो । भाइको कुनै खबर प्राप्त भएको छैन ।’
समय घर्किँदै जाँदा परिवारमा तनाव र चिन्ता बढ्दै गएको उनले बताए ।

