५ महिनापछि स्वदेश फर्किँदै देउवा : विमानस्थलमा ७ हजार कार्यकर्ता उतार्ने तयारी
सहयात्रा टिभी
काठमाडौँ । साउन २६, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब ५ महिनाको सिंगापुर बसाइपछि आगामी २८ गते स्वदेश फर्कने भएका छन्। उपचार तथा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर प्रस्थान गरेका देउवा कांग्रेस इतर पक्षको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा काठमाडौँ ओर्लिन लागेका हुन्।

देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिले भव्य तयारी सुरु गरेको छ। समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा पार्टीका शीर्ष नेताहरू देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ।
भेला आयोजक समितिका नेता मीन विश्वकर्माका अनुसार २८ गते दिउँसो देउवा विमानस्थल अवतरण गर्ने गरी तालिका मिलाइएको छ। “हामीले उहाँको भव्य स्वागत गर्ने तयारी गरेका छौँ,” विश्वकर्माले भने, “विमानस्थलमा ५ देखि ७ हजारको हाराहारीमा नेता तथा कार्यकर्ताहरू उपस्थित हुने हाम्रो अनुमान छ।” स्वागतको तयारीबारे थप निर्णय लिन आज दिउँसो २ बजे आयोजक समितिको बैठक समेत बोलाइएको छ।
पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतबाट ‘निस्सा’ (अनुमति) पाएपछि देउवा पक्ष यतिबेला निकै उत्साहित देखिएको छ। यही उत्साहका बीच यो समूहले राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिएको छ।
अर्कोतर्फ, पार्टीको संस्थापन पक्ष भने आसन्न महाधिवेशनको तयारीमा केन्द्रित भएको छ। महाधिवेशनको रणनीति र थप निर्णयहरू लिन संस्थापन पक्षको केन्द्रीय समितिको बैठक विगत दुई दिनदेखि जारी छ।
देउवाको आगमनसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक शक्ति सन्तुलन र आगामी राष्ट्रिय भेलाले थप चर्चा पाउने देखिएको छ।
