राजा ज्ञानेन्द्रले त सकेन, आफूसँग अरू कसैले नसक्ने देउवाको दाबी
सहयात्रा टिभी
काठमाडौँ । साउन २८, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गरेका छन् ।
बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेताकार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘मलाई अन्तरािष्ट्रय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौं, पक्रेर कामै छैन । उसको वाइफ र उसलाई पक्राउ गर्दैनौं भन्यो,’ देउवाले भने, ‘यहीँ पनि मुद्दा हाल्यो । फाटाहा छन् यहाँ ।’
नेपालको अदालतले समेत आफू र पत्नी डा. आरजु राणा देउवालाई पक्राउ नगर्नु भनेर आदेश दिएको उनले बताए । उनले भने, ‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो । तैपनि बदमासी गर्यो ।’
सम्पत्ति शुद्धीकरण आयोग लगाएर पटक–पटक मुद्दा चलाउन खोजिएको पनि देउवाले बताए । ‘एकपल्ट सम्पत्ति शुद्धीकरण आयो । केही पनि छैन भन्यो । दोस्रोपल्ट आयो, केही छैन भन्यो । उसलाई निकालिदियो,’ उनले भने, ‘यतिसम्म बदमासी काम गरेको छ । तर, म बड्ता कुरा गर्नेवाला छैन ।’
देशमा जनता र अदालत पनि रहेकाले जनता र अदालत सबै जानेको देउवाले बताए । ‘यो देशको जनता छ, यो देशको अदालत छ । सबले जानेको छ । बुझेको छ,’ उनले भने ।
उनले त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि आफूसँग नसकेको टिप्पणी गरे । ‘यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौं । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ,’ देउवाले भने ।

