काम गर्न असफल भएको भन्दै हर्कले गरे सरकारको आलोचना

सहयात्रा टिभी

काठमाडौँ । भदौ २, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरे ।

उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रण जस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरे ।

उनले प्रधानमन्त्रीले संसद्‍मा उपस्थित भएर जनताका प्रश्नहरूको दफावार उत्तर दिनुपर्ने माग समेत गरे ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिन माग गरे ।

साथै, धरानस्थित बराह वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

विकास निर्माणका सन्दर्भमा बोल्दै सांसद राईले सुनसरी–१ लगायत देशभरका योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन माग गरे ।

 

प्रकाशित : 18 August, 2026

प्रतिक्रिया दिनुहोस्