रास्वपा सांसदले मागे ‘मनलाग्दी नियुक्ति’बारे मन्त्रीको जवाफ
सहयात्रा टिभी
काठमाडौँ । भदौ ३, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मन्त्रीहरूले गरेको नियुक्तिका विषयमा प्रश्न उठाएका छन्।
बुधबार पार्टी सभापति रवि लामिछानेले दलका सांसद र मन्त्रीलाई सँगै राखेर गरेको छलफलमा सो विषय प्रवेश भएको हो।
सांसदहरूले प्रधानमन्त्री कार्यालयदेखि अन्य मन्त्रीहरूले मनलाग्दी नियुक्ति गरेको सर्वत्र आलोचना भएको भन्दै यसबारे जवाफ दिन माग गरेका थिए।
रास्वपा दलको कार्यालयमा तीन घण्टासम्म चलेको बैठकमा खुलेर छलफल भएको उनले बताए। रास्वपाको मन्त्री र सांसदसँगको छलफलको कारण प्रतिनिधि सभाको बैठक दुईघण्टा पछि सुरु भयो।
सभापति लामिछानेले नै राखेको बैठकमा सांसदलाई संसदमा विषय केन्द्रित कुरा उठाउन निर्देशन दिए। मन्त्रीहरूलाई जनताप्रति जवाफ देही बन्न लामिछानेले आग्रह गरे।
सांसदहरूले मन्त्रीहरूसँग सहज भेट गर्न नपाएको पनि गुनासो गरे। तर, सुधन गुरुङले सांसदहरूले विपक्षी भन्दा कडा प्रश्न गरेको गुनासो गरेका थिए।
आफ्नो मन्त्रालयसँग केही भए स्वकीय सचिव जेम्स कार्कीलाई टिपाउन गुरुङले भने। ‘गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई भेटेर टिपाउनुहोला।’
केही सांसदले मल र ग्यास हाहाकार हुँदा पनि सरकारले दिन नसकेको भन्दै मन्त्रीको जवाफ मागेका थिए।
उद्योगमन्त्री गौरीकुमारी यादवले माग हुनेभन्दा बढी ग्यास आएपनि ओभर माग भएको जवाफ दिइन्।

