आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस

सहयात्रा टिभी

काठमाडौँ । भदौ ५, आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभर विभिन्न कार्यक्रम गरी ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१७ मा आतङ्कवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२० मा सार्वजनिक गरेकाे प्रतिवेदनमा आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धताको प्रवर्द्धन तथा पीडितको मानव अधिकार संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकामा जोड दिँदै आएका छन्।

सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतङ्कवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतङ्कवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ। सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र उनीहरूको आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ। प्रस्तावले सदस्य राष्ट्रहरूलाई आतङ्कवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ।

यसैगरी, सन् २०२२ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरिएको थियो। संयुक्त राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम तथा ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’मार्फत आतङ्कवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ।

उक्त कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतङ्कवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय तथा क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ। साथै, पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन नागरिक समाज र निजी क्षेत्रका संस्थासँग सहकार्य गर्न पनि प्रोत्साहन गर्दै आएको छ। आतङ्कवादका पीडितको सम्मान, उनीहरूको अधिकारको संरक्षण तथा न्याय र सहयोग सुनिश्चित गर्ने प्रतिबद्धतालाई थप बलियो बनाउने उद्देश्यले यो दिवस मनाइँदै आएको हो।

प्रकाशित : 21 August, 2026

प्रतिक्रिया दिनुहोस्