सिभिल अस्पतालले गर्यो १० वर्षमा २२३ जनाको बोनम्यारो प्रत्यारोपण
सहयात्रा टिभी
काठमाडौँ । भदौ ७, निजामती कर्मचारी अस्पताल (सिभिल)ले १० वर्षमा २२३ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ। अस्पतालले एक कार्यक्रम गरी २०७३ सालयता २२३ जनाको बोनम्यारो प्रत्यारोपण गरेको जनाएको हो।
अस्पतालका हेमाटोलोजिष्ट डा विशेष पौडेलले १० वर्षमा अस्पतालले ३० प्रतिशत वालवालिकाको बोनम्यारो प्रत्यारोपण गरेको बताए।
उनले ७० प्रतिशत आफन्त डोनरबाट प्रत्यारोपण गरेको बताए। डा विशेषले नै सिभिल अस्पतालमा बोर्नम्यारो प्रत्यारोपण सुरु गराएका हुन्।
बोनम्यारो प्रत्यारोपण सुरु गर्न उनी अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस (यूआईसी) सिकागोमा तालिम लिन चिकित्सकको टोली सहित गएका थिए।
अमेरिकाबाट तालिम लिएर फर्किएर २०७३ साउन ३० गतेदेखि सिभिल अस्पतालमा पहिलोपटक बोनम्यारो प्रत्यारोपण सुरु गरेका थिए।
डा विशेषका अनुसार उपचार गरिरहँदा पनि शरीरमा रक्त क्यान्सरका कोषिकाहरू कम नभए र रक्तजन्य रोग लागेमा, रगतसम्बन्धी समस्या र क्यान्सर भएकाहरूको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।
ल्युकेमिया, मल्टिपल मिएलोमा, लिम्फोमा,अप्लास्टिक एनिमिया, थालेसिमिया र सिकल सेल एनिमिया जस्ता रोगमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ।
बोनम्यारो नली हाडभित्र हुने मासी हो। बोनम्यारोले शरीरमा रातो र सेतो रक्तकोष बनाउँछ। रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोषले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
बोनम्यारो प्रत्यारोपणलाई संसारमा नै जटिल र महँगो प्रत्यारोपण मानिन्छ। सिभिल अस्पतालले १० देखि १५ लाखसम्ममा प्रत्यारोपण गर्ने गरेको छ। सिभिल अस्पताल बोनम्यारो प्रत्यारोपण हुने नेपालको एकमात्र सरकारी अस्पताल हो।

