सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ , सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०२ बजेको मापनमा जलसतहले सतर्कताको सीमा नाघेको हो।

अविरल वर्षाका कारण नदीको जलसतह बढ्ने क्रम जारी रहेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। पूर्वानुमान महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ६:५० बजे खुर्कोट जलमापन केन्द्रमा नदीको सतह ७.६९ मिटर पुगेको छ।उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ भने ८.६ मिटरलाई खतराको तह मानिन्छ।
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय होचा भागहरूमा डुबान र कटानको जोखिम बढेको छ। महाशाखाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ।
